कालोबजारी र मूल्यवृद्धि विरुद्ध तरुण दलले खबरदारी गर्ने

54

(काठमाडौं) – नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९) को सम्भावित संक्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने भएको छ । तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धि प्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त आपूर्तितर्फ सरकारले गम्भीरता नदेखाएको भन्दै जनताको अधिकारका लागि खबरदारी गर्ने उनले बताए । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न आवश्यक चिकित्सकीय उपकरण र औषधिको तयारीका लागि सरकारलाई आग्रह गर्दै उनले कोरोना भाइरसको जोखिमबारे जनस्तरसम्म जनचेतना फैलाउन तरुण युवा परिचालन हुने बताए ।

कोरोना भाइरसको संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थाहरु मार्फत विविध ढङ्गले अघि बढाइने उनले बताए । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले पार्टीको निर्देशन बमोजिम देशभरका शाखाहरुले सबै जिल्लामा कोरोना भाइरसको जोखिमबारे जनचेतना फैलाउन परिचालन हुने बताए ।

काँग्रेसले कोरोनाको संक्रमणबारे विश्व स्वास्थ्य संगठनले गराएको सचेतता, सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई ध्यानमा राखेर पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम बुधबारदेखि लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिसकेको छ ।

समाचार वर्गहरू