गान्धीको सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

15
फाइल फोटो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन् ।

महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले बुधबार आयोजना कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताए ।

प्रधानमन्त्री ओलीले भने, “गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैनन् । त्यसबेलाको औपनिवेषिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो सावित भएको थियो ।”

दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी रहेको उनले बताए । प्रधानमन्त्री ओलीले भन्नुभयो, “विज्ञान र प्रविधिका कारण आम विनासकारी हतियार र विष्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।”

पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एक अर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने उनले बताए ।

समाचार वर्गहरू