विश्व बैंकको २ अर्ब ७१ करोड अनुदान स्वीकृत

16

काठमाडौँ – नेपालका विद्यालय क्षेत्रको विकास कार्यक्रमका लागि विश्व बैंकले प्रदान गर्ने झण्डै ३ अर्ब रुपैयाँ अनुदान सरकारले स्वीकार गर्ने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विश्व बैंकले प्रदान गर्ने २ अर्ब ७१ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणमा केही समयका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई सम्पूर्ण काम गर्ने गरी जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ । प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव ढकाललाई सबै काम गर्ने गरी तोक्ने निर्णय गरिएको मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरेको छ ।

नेपाली सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा पदोन्नति गर्ने सरकारले निर्णय गरेको छ । यस्तै, महासेनानी कुमारबाबु थापा लगायत ५ जना महासेनानीलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

यस्तै, नख्खुखोला–भैंसेपाटी–बुङमति सडकखण्ड स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको मन्त्री बाँकोटाले जानकारी दिनुभयो । नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा ऊर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

समाचार वर्गहरू