सरकार सर्वसत्तावाद तर्फ अग्रसर : विपक्षी दल

72

(काठमाडाैं) – विपक्षी दलहरुले सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिदै सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ ।

ललितपुरको सानेपास्थित कांग्रेसको पार्टी मुख्यालयमा सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच भएको बैठकले सरकारको यस प्रवृतिको भत्सर्ना गरेको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र शरदसिंह भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष प्रकाचन्द लोहनीले संयुक्त विज्ञप्ति जारी गरी सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृति विरुद्ध लोकतान्त्रिक शक्ति एकतावद्ध भई संघर्ष गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा जनता समाजवादी पार्टी सांसद डा. सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । लकडाउनको अवधिमा जताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारत्मक प्रभावलाई न्यून गर्न अवश्यक राहत र कार्ययोजना निर्माणमा सरकार असफल भएको बैठकको निष्कर्ष छ ।

विपक्षी दलले तत्काल राहतको र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न सरकारसँग माग गरेका छन् । कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन परीक्षणमा भएको ढिलासुस्ती अन्त्य गरी तीब्रता दिन पनि विपक्षी दलले माग गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी सहभागी थिए ।

यस्तै, जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

बैठकले निम्न लिखित निर्णय गरेको छ :

(१) लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

(२) सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।

(३) कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तीब्रता दिन यो बैठक माग गर्दछ ।

समाचार वर्गहरू