कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाएको भन्दै कांग्रेसको आपत्ति

83

(काठमाडौं) – प्रतिनिधिसभाको आजको बैठकबाट संविधान संशोधन सम्बन्धी विद्येयक हटाईएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट मंगलबार र बिहीबारका लागि प्रतिनिधिसभाको बैठक निर्धारण गरिएको र बुधबारका लागि बैठक वा कुनै कार्यसूची तय नगरिएको कांग्रेसले जनाएको छ । प्रतिनिधिसभा बैठकमा सरकारले एकलौटी ढंगले कार्यसूची तय गर्ने, आफै हटाउने र प्रतिपक्षीलाई दोष दिने नियत देखिएको प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एकजुट भएर लाग्नुपर्नेमा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने र प्रमुख प्रतिपक्षीलाई आरोप लगाउनुलाई गम्भीरतापूर्वक लिएका छौं ।’

सरकारी कदमको निन्दा गर्दै कांग्रेसले गम्भीर राष्ट्रिय एकताको भवनाका साथ काम गर्न समेत आग्रह गरेको छ । यसअघि सरकारले भने प्रतिपक्षी कांग्रेसले समय मागेकाले संविधान संशोधन विद्येयकलाई आजको कार्यसूचीबाट हटाईएको दाबी गरेको छ । प्रधानमन्त्री कार्यालय श्रोतले भन्यो, ‘बालुवाटारमा हिजो बसेको सर्वदलीय बैठकमा कंग्रेसले पार्टी केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने भन्दै समय मागेकाले आजको सूचीबाट हटाईएको हो ।’

मंगलबारको बैठकमा राजपा र समाजवादीले समेत संविधान संशोधनमा आफ्नो माग पनि सम्बोधन हुनुपर्ने अडान दोर्होयाए पछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन् । राजपा र समाजवादीको मागप्रति प्रधानमन्त्री ओलीले राष्ट्रियतासँग जोडिएको संविधान संशोधनको विषयमा अन्य मुद्दा नजोड्न आग्रह गरेका थिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन सरकारले दलीय सहमति खोजेको हो ।

सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सहितको निसान छाप परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । यसैबीच राप्रपाले भने संविधान सशोधन विद्येयकको संशोधन प्रस्तावमा सर्मथन गर्ने निर्णय गरेको हो ।

समाचार वर्गहरू