चितवन मेडिकल कलेजमा तोडफोड र अश्रुग्यास

14

(चितवन) – उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृकतकका आफन्तले चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा तोडफेड गरेका छन् । मृतकका आफन्तको विरोध प्रदर्शन पछि आइतबार साँझ अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।

अस्पताल परिसर पस्ने गेट र भवन छिर्ने मुख्य ढोकामै ढुंगा प्रहार गरेर तोडफेड गरेका हुन् । तोडफोडपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा बसन्तपुरकी आशा ज्ञवालीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । पिनासको उपचारका लागि आएकी उनको असोज २७ गते नाकको शल्यक्रिया भएको थियो । मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

नाकको ‘सामान्य शल्यक्रिया’ गर्दा पनि बिरामीको मृत्यु भएको भनेर आफन्तहरु आक्रोशित बनेका हुन् । उनीहरुले उपचारमा अस्पतालबाट लापरवाही भएको भन्दै आइतबार दिउँसोबाट अस्पतालको अगाडी विरोध प्रदर्शन गरेका थिए ।

अवस्था बिग्रदै गएपछि अश्रुग्याँस प्रहार गरेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता डीएपी एकनारायण कोइरालाका अनुसार ४० राउड अश्रुग्याँस प्रहार भएको थियो । तोडफोड गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

समाचार वर्गहरू