(काठमाडौं) – कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा क्यासिनोकै जस्तो सिक्का प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा सोमबार राति पक्राउ परेका एनआईसी बैंकका संचालक रामचन्द्र संघाई र लाइफ इन्स्योरेन्स कम्पनीका संचालक अशोक अग्रवाललाई छुटाउन महानगरीय आयुक्त विश्वराज पोखरेलले राति नै दबाब दिएका थिए । तर महानगरीय प्रहरी परिसरले हल्ला भइसकेकाले प्रहरीको बदनाम हुने भन्दै राति छाड्न मानेनन् ।
एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपाने उनलाई छुटाउनका लागि पहल गर्न सोमबार राति नै डीआइजी विश्वराज पोखरेललाई भेट्न पुगेका थिए । कोरोना महामारी फैलिएपछि सरकारले घोषणा गरेको लकडाउनमा एनआइसी एसिया बैंकले कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) फन्डबाट १२ लाख रुपैयाँको चामल डीआइजी पोखरेललाई दिएको थियो । डीआइजी पोखरेलले त्यो चामल बाँडेर चर्चा धेरै नै बटुल्न खोजेका थिए । तर प्रहरी प्रधान कार्यालयले प्रहरीको काम चामल बाँड्ने होइन भनेर रोक लगाएको थियो । बैंकले दिएको चामल विभिन्न आश्रममा आफैंले दिएको जस्तो गरी उनले बितरण गरेको बिषयमा प्रहरी आलोचित भएपछि हेडक्वाटरले रोकेको थियो ।
एनआइसीका सीइओ रोशन न्यौपानेदेखि राति नै छाड्न दबाब दिन पुगेका थिए । सोमबार पक्राउ परेका ९ भीआइपी जुवाडेमध्येका एकलाई सुगरको बिरामी भन्दै राति नै छाडिएको थियो । संघाईलाई छाड्न हिजो राति बैंकका रोशन न्यौपाने, रन्जन खड्का र अर्जुन खनियाँसहितको टोली डीआइजी पोखरेललाई जुवाडे छुटाउन दबाब दिन धाएका थिए । चामल दिएको गुन तिर्न डीआइजी पोखरेलले भनसुन त गरे तर पक्राउको सूचना लिक भएकाले उनको पनि जोड चलेन । र, जुवाडेहरु हिरासतमै बस्न बाध्य भएका थिए ।
त्यसैगरी, सुनिल धानुकाका भिनाजु पवन सर्राफले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई फोन गरेर जुवाडे छाड्न अनुरोध गरे । अर्थ मन्त्रालयमा हुँदादेखि निकट सम्बन्ध भएकाले सचिव अर्यालले डीआइजी विश्व पोखरेललाई छाडिदिन भने । तर मिडियामा ब्यापक भएकाले डीआइजी पोखरेलले भने पनि काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले छाडेनन् । त्यहीकारण डीआइजी पोखरेल ज्ञवालीसँग रुष्ट भएका छन् ।
मदिराको कारोबार गर्ने संघाई ग्र्ुपकै स्वामित्वको ग्रिनलाइन सर्भिसका संचालक अनिल अग्रवाल पनि सोमबार राति निकै सक्रिय भएका थिए । उनले पनि शक्तिकेन्द्रमा गुहार मागे । तर जुवाडेहरु छुटेनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्यादथप गरेको छ । तर कोरोना संक्रमणको बहानामा जुवाडे छाड्ने दबाब पनि प्रहरीमाथि हाकिमहरुले दिइरहेका छन् ।
युवती समेत राखी होटलमा अवैध क्यासिनो संचालन
प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो । उनीहरुले युवतीसमेत राखेर क्यासिनोको जस्तै सिक्का राखी जुवा खेल्ने गरेको खुलेको छ । प्रहरीले बरामद गरेको १७९ सिक्काले त्यहाँ लामो समयदेखि नै जुवा खेल संचालन हुने गरेको देखिन्छ ।
भारतीय नागरिक मिक्की जोगाईले उक्त होटलमा भीआइपी जुवा अखाडा संचालन गरेको बिषयमा मारवाडी समुदायबाटै प्रहरीमा सूचना पुगेको थियो ।
काठमाडौंको दरबारमार्ग बृत्तदेखि अपराध महाशाशाखासम्म पनि उक्त होटलमा हुने जुवा अखाडाको सूचना पुगेको थियो । र, महानगरीय प्रहरी बृत्त दरबारमार्गले सोमबार होटलबाट पक्राउ गरेका ब्यापारीका साथमा तीन युवती पनि रहेको खुलेको छ । उनीहरुका साथमा पक्राउ परेका केही युवतीलाई भने राति नै छाडिएको स्रोतको दाबी छ । होटलबाट क्यासिनोकै जस्तो १ सय ७९ वटा चिप्स बरामद भएको छ र चिप्समार्फत हिसाब गरेकाले करोडौं रुपैयाँको हारजित भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनीहरुले क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्थ्यो । प्रहरीले जुवाखालबाट २ लाख ७७ हजार सात सय २० रुपैयाँ नगद बरामद गरेको बताएको छ । तर उक्त जुवाखालमा चिप्समार्फत् करोडौंको कारोबार हुने गरेको बिषयमा पनि छानबिन हुनुपर्ने माग भइरहेको छ ।
यसअघि २०७६ तिहारमा महाराजगंजबाट पक्राउ परेका जुवाडे बलराम सापकोटा ‘बले’, पवित्रक्ुमार कार्की र श्रवण गोयल १७ दिनसम्म हिरासतमा बस्नुपरेको थियो । बले र कार्कीले आफ्नो माथिसम्म पहुँच छ भन्दै तुजुक देखाउँदा १७ दिन हिरासतबासबाट पनि सम्पत्ति शुद्धिकरणको चक्कर काट्नुपरेको थियो ।(नेपालफेस)