(काठमाडौं) – नेपाल र बंगलादेश खाद्य प्रविधि तथा वनस्पती क्यारेन्टाइनको क्षेत्रमा आपसी सहकार्य गर्न तयार भएका छन् । नेपाल र बंगलादेशको सहसचिवस्तरीय चौंथो प्राविधिक समितिको बुधबार सम्पन्न बैठकमा यस्तो सहमति भएको हो ।
सहमतिअनुसार नेपालको खाद्य प्रविधि, कृषि तथा वनस्पती क्वारेन्टाईन, साल्ट ट्रेडिङ्ग र खाद्य व्यापार कम्पनी तथा बंगलादेशका सोहीस्तरका कम्पनीबीच सहकार्यका लागि एमओयू गरिने छ ।
मंगलबार र बुधबार दुई दिन काठमाडौंमा बसेको बैठकले दुई देशबीच बढदै गरेको व्यापार तथा सम्भाव्य व्यापारबाट दुई वटै पक्षले अधिकतम फाइदा हासिल गर्न प्रयत्न गर्नुपर्ने भन्दै मुख्यगरी व्यापार, पारवहन, लगानी लगायत विषयमा छलफल गरेको थियो ।
दुई देशबीच स्थल, जल र हवाई मार्ग मार्फत पारवहन कनेक्टीभिटी बिस्तार गर्न छलफल भए पनि कुनै सहमति भने नबनेको नेपाली पक्षबाट वार्ताको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । विषादी परीक्षणका लागि प्लान्ट तथा क्वारेन्टाइनका विषयमा ४ वटा विषयमा समझदारी गर्न आवश्यक प्रकृया पूरा गर्ने सहमति पनि भएको छ ।
कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सम्बन्धित निकाय, साल्ट ट्रेडिङ र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश बीच समझदारी हुनेछ ।
दुई देशका यी निकायबीच हुने अन्तिम सम्झौता भने यसपछि बस्ने सचिवस्तरीय जोइन्ट स्टेयरिङ ग्रुरुपको बैठकबाट हुने जानकारी दिइएको छ । नेपालमा उत्पादित धागो, अलैँची, अदुवा र अम्रिसो जस्ता कृषिजन्य उत्पादन भन्सार झमेलाबिना बंगलादेश निर्यात, चिकित्सा शिक्षा अध्ययनका लागि गएका बिद्यार्थीका समस्या समाधानका लागि नेपाली पक्षले बंगलादेशी पक्षलाई आग्रह गरेको थियो ।
बैठकमा भन्सार शुल्कका झन्झट, लगानी प्रवद्र्धन तथा संरक्षणका विषयमा छलफल भए पनि सहमति भने बन्न सकेन । नेपाली पक्षले उठाएको मागमा सन्दर्भमा बंगलादेशी पक्ष सकारात्मक बनेको सहसचिव ढकालले बताए ।