प्रधानमन्त्री ओली आज अजरबैजान प्रस्थान गर्दै

15

(काठमाडौं) – असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली (बिहीबार) आज अजरवैजन जाँदै छन् । अजरवैजनको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

ओली बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दुई दिने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । असंलग्न आन्दोलनमा संलग्न देशका राज्य प्रमुख र सरकार प्रमुख सहभागी हुने सम्मेलन यही कात्तिक ८ देखि ९ गतेसम्म बाकुमा हुँदैछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई, परराष्ट्र सविच शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनलाई प्रधानमन्त्री ओलीले कात्तिक ९ गते सम्बोधन गर्नेछन् ।

त्यस्तै प्रधामन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिभले सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने औपचारिक रात्रिभोजमा समेत सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार, विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गर्नेछन् ।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अगाल्दै आइरहेका छन् । नेपाल लगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन् । सम्मेलनले १७ औं सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयन र नयाँ योजनाबारे छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री ओली बाकुबाट कात्तिक ९ मा प्रस्थान गर्ने र १० गते काठमाडौं आइपुग्नेछन् ।

समाचार वर्गहरू