कोरियामा ईपीएस कामदारको भिसा थपिने

40

काठमाण्डौं – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले भिसा थप गरिदिने भएको छ । सरकारले त्यस्ता कामदारहरूले थप भएको समयमा समेत काम गर्न पाउनेगरी भिसा अवधि थप गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भिसा सकिएका कामदार स्वदेश फर्कन नपाएपछि तत्कालका लागि यो नियम ल्याइएको हो ।

यसअघि पनि कोरिया सरकारले अवधि सकिएका कामदारको भिसा ५० दिन थप गरिदिएको थियो । तर उक्त अवधिमा पनि आफ्नो देश फर्कन नसकेकाहरूलाई थोरै समयका लागि भिसा थप्दै आएको थियो । यसरी थपिएको भिसा अवधिमा कामदारलाई काम गर्ने अनुमति भने दिइएको थिएन । हाल दक्षिण कोरियामा ५ हजारभन्दा बढी नेपालीको भिसा अवधि सकिएको छ ।

एजेन्सिका अनुसार रियाली प्रधानमन्त्री चुङ से क्युनले बुधबार विपद् व्यवस्थापनको बैठकमा बोल्दै नयाँ नियमबारे बताएका हुन् । उनले कोरियाको धेरै गाउँका कृषि फार्महरूमा कामदारको अभाव रहेकाले सरकारले नयाँ नियम ल्याउन लागेको पनि जनाए । ‘भिसा थपिएकाले अस्थायी रूपमा काम गर्न पाउने छन् । उनीहरूलाई कृषि फार्मतिर कामका लागि प्रोत्साहन गरिनेछ,’ उनले भने ।

यसैगरि लामो समयदेखि भिसा सकिएर बसेका २ सय ३८ जना नेपाली कोरियन एयरमार्फत बिहीबार नेपाल फर्कंदै छन् । ५ हजारभन्दा बढी नेपाली भिसा अवधि सकिएर स्वदेश फर्कने पर्खाइमा छन् । बिहीबार फर्कनेसहित हालसम्म ७ सय जना कामदार मात्रै स्वदेश फर्कन पाएका छन् ।

समाचार वर्गहरू