काठमाण्डौं – जातको आधारमा हुने विभेदमाथि बहस गर्ने कार्यक्रम ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । अभिनेता राजेश हमालले प्रस्तुत गर्ने ‘जातको प्रश्न’ १२ एपिसोडको हुने बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘समता फाउण्डेसन’ले सुरु गर्न लागेको ‘टक सो’ मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । उक्त कार्यक्रम साउन १७ गतेदेखि साँझ ६:३० बजे कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार आउनेछ । ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले बताइन् ।
पहिलोपटक यस्तो कार्यक्रममार्फत् प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको बताए । ‘हाम्रो सँस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,’ उनले भने, ‘यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं । त्यसैले पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य यही हो ।’
‘समता फाउण्डेसन’का कार्यकारी अध्यक्ष प्रदीप परियाले हालै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले ‘जातको प्रश्न’सुरु गरेको बताए । ‘नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ । तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन् । परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो,’ परियारले पत्रकार सम्मेलनमा भने, ‘रुकुमको घटमा जुन बर्बरता भयो, जातको जाँतोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो ।
नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्याउन राजेश हमाल उपयुक्त लागेका कारण उनलाई प्रस्तोतामा लिएको उनले बताए । कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्युनीकरण होस् भन्न यो पहलमा साथ दिएको बताए ।