नेपालमा रेल सँगै कर्मचारीपनी भारतबाट बाटै

37

काठमाडौँ – जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ । रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने तयारी भएको हो ।

मन्त्रिपरिषद्ले रेलमा काम गर्ने कर्मचारी भर्ना गर्न गत माघमा स्वीकृति दिएको थियो । माघ तेस्रो साताबाट रेल सञ्चालनमा आउने बताइएको थियो । तर समयमै कर्मचारी भर्ना गर्न नसक्दा रेल सञ्चालन अन्योलमा परेको थियो । अहिले कोरोनाले गर्दा ढिलाइ भएको छ । एउटा स्टेसनमा कम्तीमा १० देखि १५ जना कर्मचारी राखिनेछ ।

नेपाल र भारतीय रेलवे बोर्डबीच करारमा कर्मचारी ल्याउन सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । दुई देशका अधिकारीबीच भएको अनलाइन बैठकमा रेल चालक र प्राविधिक माग गरिएको हो । ‘नेपालमै विज्ञापन गरेर कर्मचारी माग गरियो । तर आवेदन नै परेन,’ उनले भने, ‘त्यसैले भारतबाटै कर्मचारी ल्याउन खोजिएको हो ।’ उनका अनुसार रेल आएसँगै कर्मचारी पनि आउनेछन् ।

सञ्चालक समितिले पनि कर्मचारी भर्नाको अधिकार दिइसकेको हुनाले तत्काल विज्ञापन गरेर थप कर्मचारी भर्ना गरिने तयारी गरीएको छ । भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना ल्याइनेछ । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३/३ जना ल्याइनेछ । रेल सेट भने यहि भदौ ३० गते ल्याउने तयारी गरिएको छ ।

रेल सेट खरिदका लागि सरकारले ८४ करोड ६५ लाख बजेट छुट्याएको थियो । यसमध्ये २० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ । ८० प्रतिशत भुक्तानी भने रेल ल्याएर परीक्षण गरेपछि मात्र गरिनेछ । ‘रेलमा एक वर्षको वारेन्टी हुन्छ, यसमा कम्पनीको पनि बैंक ग्यारेन्टी लिनेछौं,’ मिश्रले भने, ‘एक वर्षभित्र रेल बिग्रिए वा कुनै खराबी आए कम्पनीले नै बनाइदिनुपर्छ ।’ अहिले दुवै रेल सेट जनकपुरदेखि करिब चार घण्टाको दूरीमा रहेको मिश्रले बताए । ‘कर्मचारीको समस्या थियो,’ उनले भने, ‘थप दुई सय जना कर्मचारीका लागि विज्ञापन गर्छौं ।’ निषेधाज्ञा खुल्नासाथ विज्ञापन आह्वान गरिने उनले जानकारी दिए । टिकट चेक गर्ने, ट्र्याक मर्मत गर्ने, टिकट बिक्री गर्नेलगायत काम गर्ने जनशक्तिका लागि विज्ञापन खुलाइनेछ ।

समाचार वर्गहरू