नेकपा सचिवालय बैठक बस्दै

15

(काठमाडौं) – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (आइतबार) बस्दैछ । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवास दिउँसो ४ बजे बस्ने बैठकमा नियमित एजेण्डा माथि नै छलफल हुने बताइएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, नेताहरुको कार्यविभाजन, पार्टी एकीकरणका बाँकी काम टुंग्याउने र स्थायी कमिटी बैठक बोलाउने लगाएतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टी सञ्चालनका सन्दर्भमा लामो छलफल गरिसकेका छन् । सचिवालय बैठकमा नियमित एजेण्डा माथिनै छलफल हुने नेकपा महासचिव विष्णु पौडलले जानकारी दिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली लामो समय उपचारका लागि विदेश जानेबारे छलफल भइरहेको छ । थप उपचारका लागि विदेश जाने सम्भावना बढेसँगै आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेल र पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष दाहाललाई दिने तयारी प्रधानमन्त्रीले गरेको स्रोतले बताएको छ ।

यद्यपि, प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि विदेश जानेबारे अहिलेसम्म कुनै जानकारी भने दिइएको छैन । पार्टी एकता सम्बन्धी लगभग सबै काम टुंगो लागिसकेकाले अब नियमित काम अध्यक्ष, महासचिव र सचिवालय मार्फत हुने नेकपा नेताहरु बताउँछन् ।

सम्भवतः नेकपा स्थायी कमिटी बैठक पनि चाँडै बस्नेछ । लामो समय देखि स्थायी समिति बैठक बस्न नसक्दा उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमको पद पनि अनुमोदन भएको छैन ।

समाचार वर्गहरू