बुटवल – प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी दलको नाराबाजीकाबीच प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमाथिको छलफल सोमबार नै सकिएको थियो । आज मध्यान्ह्न १२ बजेपछि बस्ने बैठकमा नाम र राजधानीको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु हुने प्रदेश सभामुख पूर्णकुमार घर्तीले जानकारी दिए ।
राजधानी र नामबारे छलफल सुरू भए लगत्तै कांग्रेसले प्रदेश सभामा नारावाजी गरेको थियो। कांग्रेसका तीन सांसदले कुर्सी, टेबुल र माइक पनि तोडफोड गरेका थिए ।
सरकारले ल्याएको प्रदेशको नाम र राजधानीको प्रस्तावमा संशोधन दर्ता गर्न प्रदेशसभा सचिवालयले १८ घण्टाको समयावधि उपलब्ध गराएको छ । प्रदेशका नाममा खासै आपत्ति नभएपनि राजधानीका विषयमा भने सरकारको प्रस्तावमा सत्तारुढ दलकै सांसदले असन्तुष्टि जनाएका छन् ।
प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । प्रदेशको नाम लुम्बिनी राख्नेबारे कांग्रेसको समर्थन नै रहेको देखिएको छ ।
प्रदेश ५ मा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सांसद छन् । प्रदेशको नाम र राजधानीको प्रस्ताव पारित गर्न दुई तिहाई अर्थात ५८ मत आवश्यक पर्छ ।