फागुनपछि काठमाडौंका सडकमा खाल्डा नदेखिउन्ः प्रधानमन्त्री ओली

16

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिंंदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न पनि निर्देशन दिएका हुन् ।

‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु पर्यो ।’

विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहेपनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै उनले तत्परता अपनाउन निर्देशन दिए । ‘सरकारले चाहेपछि त एक हप्तामा सडक चिल्लो हुँदो रहेछ नि भनेर जनताले भनिरहेका छन्’ उनले भने, ‘एक हप्तामा सबै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’

प्रधानमन्त्री ओलीले आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए । ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘विकास निर्माण भइरहेका ठाउँमा धूलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धूलो उड्नु हुँदैन ।’

विकास निर्माण भइरहेका ठाउँमा धूलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्ने प्रधानमन्त्रीको भनाई थियो । निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैं धूलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धूलो उड्छ भन्ने मलाई थाहा छ । तर, जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धूलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारवाहीको भागीदार हुने पनि चेतावनी दिए ।

‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई प्रधानमन्त्रीलाई दिनुपर्छ भनेर कसैले भन्छ भने, त्यो नेपाललाई गरिबीबाट मुक्त गर्ने यो सरकारको नीति विपरीत काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंहरुलाई पनि गाडी छ, राम्रो तलब छ । यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, यो भन्दा बढी के चाहियो ? यदि कसैले लोभ गरेर तलमाथि गरे कारबाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु ।’

सरकारको कामप्रति हुने विरोध तीन प्रकारका रहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यसम्पादनमा भएको कमजोरी माथि हुने विरोधलाई स्वीकार गर्न तर, वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोध प्रति वास्ता नगर्न आग्रह गरेका छन् ।

‘हामीले काम गर्दा केही कमजोरी भएर विरोध भए त्यसलाई तुरुन्तै सच्याउनुस्’ उनले भने, ‘विचार दर्शन मन नपरेर वैचारिक पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले भ्रम छरेर गरिने विरोधसँग डराउनु पर्दैन । काम गर्दै जाँदा विरोध गर्नेहरु नै आफैं थाक्छन् ।’

चार दिनपछि सबै मन्त्रालयबाट रिपोर्ट लिनेगरी अघिल्लो चौमासिक समीक्षाका लागि बैठक बस्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

समाचार वर्गहरू