धर्नामा बसेका विद्यार्थीमाथि कलेज प्रशासन गऱ्यो कुटपिट

17

(काठमाडौं) – नेसनल मेडिकल कलेज वीरगन्जमा धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ । विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका विद्यार्थीलाई कुटपिट  र केही छात्रामाथि दुर्व्यवहार गरेका हुन् ।

सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग सहित शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि कलेज प्रशासनले योजनाबद्ध आक्रमण गरेको पीडित विद्यार्थीहरुले बताएका छन् ।

‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने । प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए । यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए । उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए ।

उनीहरूले राति कलेजविरूद्ध निवेदन दिन खोजेका थिए । समय अवेर भइसकेको भन्दै प्रहरीले निवेदन नलिएको ती विद्यार्थीले बताए । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले कलेज परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन् ।

बिहिबार साँझ कलेज प्रशासनले आफू निकटका विद्यार्थी र बाहिरका व्यक्ति बोलाएर विद्यार्थीमाथि धम्की दिने र आक्रमण गरेको आन्दोलनरत एक विद्यार्थीले जानकारी दिए । उनका अनुसार कलेजको होस्टलमा बस्ने विद्यार्थीलाई समेत भित्र प्रवेशमा समेत रोक लगाइएको छ ।

विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए । मेडिकल कलेजले गैरकानूनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो । आक्रमणम नै गर्न थालेपछि विद्यार्थी र्याली सहित प्रहरीमा पुगेका थिए ।

कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले धर्नाका क्रममा विद्यार्थीसँग भनाभन भएको बताए । तर, आक्रमण भएकोबारे आफूलाई जानकारी नभएको बताए । नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन् ।

शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशन सहित कारबाहीको चेतावनी दिएको थियो । तर, उक्त निर्देशन दिएको एघार दिन पुगे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थी धर्नामा बसेका थिए । पर्सा प्रहरीले विद्यार्थीले सुरक्षा मागेको बताएको छ ।

समाचार वर्गहरू