सामाजिक सुरक्षा कार्यक्रम लागू भएको एक वर्ष पूरा

19

(काठमाडौं) – सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम बुधबार एक वर्ष पूरा भएको छ । काठमाडौंमा आज विशेष कार्यक्रम गरी सामाजिक सुरक्षा दिवस मनाइँदै छ । विस. २०७५ मंसिर ११ गते औपचारिक रुपमा शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेका थिए ।

सोही घोषणा अनुसार बुधबार भृकुटी मण्डपमा एक कार्यक्रम आयोजना गरी सामाजिक सुरक्षा दिवस मनाइँदै छ । नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरु अनिवार्य रुपमा समेटिने गरी अघि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म १ लाख ११ हजार बढी श्रमिक र ११ हजार बढी रोजगारदाता सुचीकृत भईसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषमा सूचीकृत हुन बाँकी रहेको श्रमिक तथा रोजगारदाता आगामी १४ गते सम्मको समय दिएको छ । रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेपछि योगदानको रकम मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने हुन्छ ।

जसमा श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टि गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी मासिक रुपमा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नु पर्दछ । योगदानकर्ताले कोषमा रकम जम्मा गर्न सुरु गरेपछि कोषका विभिन्न योजनाहरुमा योगदानकर्ताहरु समेटिने प्रावधान छ ।

कोषले प्रारम्भिक चरणमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना गरी ४ वटा योजनाहरु अघि सारेको छ ।

कोषमा जम्मा भएको योगदानकर्ताको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता योजनाका लागि १ दशमलव ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत गरी कुल ३१ प्रतिशत रकमलाई बाँडफाँड गरेको छ ।

समाचार वर्गहरू