नेकपा प्रचण्ड–माधवको अडान : सूर्य चिह्न अरुलाई नदिइयोस्

52

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो ।

पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको निर्वाचन आयोगको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ मा जवाफ पत्र पठाएको यो समूहले पुस १० मा पेश भएको (दर्ता नम्बर ५५५) कागजात नै पर्याप्त भएको जवाफ दिएको हो ।

यो समूहले दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको पत्रमा उल्लेख छ ।राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३, ४४ अन्तर्गत दल दावी गर्न आयोगले पठाएको पत्रलाई यो समूहले प्रासंगिक र औचित्यपूर्ण नभई गैरकानूनी भएको संज्ञा समेत दिएको छ ।

पदाधिकारी परिवर्तन सम्बन्धी कानूनी व्यवस्थाअनुसार, पुस ७ र ९ मा बसेको केन्द्रीय कमिटीको निर्णय बुझाइसकेकाले आयोगको पत्रलाई प्रासंगिक र औचित्यपूर्ण नभएको तर्क गरिएको छ । यो समूहले पुस १० मा बुझाएको कागजातमा पार्टी नाम, चुनाव चिह्न (सूर्य) र झण्डा अरु कसैले दावी गर्न आएमा नदिन आग्रह गरेको थियो ।

नेकपाको वैधानिकताबारे यो समूहले केन्द्रीय कमिटीको बहुमतको निर्णयलाई आधार मानेको छ । एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी आयोगमा बुझाएको कागजातमा उल्लेख भएको ४४१ केन्द्रीय सदस्यमध्ये २८७ जनाको हस्ताक्षर अर्थात् ६५.१३ प्रतिशत आफूतिर दावी गरेको छ ।

समाचार वर्गहरू