काठमाडौँ – कांग्रेसले भदौ १८ गते अधिवेशन गर्न नसकेका वडाहरूमा अर्को मिति तोक्ने अधिकार सम्बन्धित जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई दिएको छ ।
केन्द्रीय निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिकाले भदौ १८ गते कारणवश अधिवेशन हुन नसकेका वडाहरूमा केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरी सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले नै अर्को मिति तोक्ने र अधिवेशन गराउन सक्ने अधिकार दिएको कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिए ।
महतले भने ‘जहाँ–जहाँ सम्भव हुन्छ, त्यहाँ भदौ १८ गते नै अधिवेशन हुन्छ, जहाँ त्यो दिन गर्न नसक्ने अवस्था हुन्छ, त्यस्तो ठाउँमा अर्को दिन निर्वाचन अधिकृतहरूले नै मिति तोकेर अधिवेशन गर्छन् । गाउँपालिका र नगरपालिका तहको अधिवेशन भदौ २७ गते मात्रै हो । त्यसो भएकाले निर्वाचन समितिसँग पर्याप्त समय छ, त्यो बीचमा सबै वडाको अधिवेशन भइसक्छ ।’
निर्वाचन समितिले शनिबारसम्म ५३ जिल्लाको नामावली प्रकाशित गरिसकेको छ । बाँकी जिल्लाको समेत क्रमशः प्रकाशित गरिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
‘हामी एक्लैले अधिवेशन गर्ने होइन । यसमा सिंगो पार्टीको जोड हुनुपर्छ । हामीले हाम्रो काम गर्ने हो,’ उनले भने, ‘तयारी पूरा भएका वडामा १८ भदौमै अधिवेशन हुन्छ । कारणवश त्यो दिन अधिवेशन गर्न नसकिएका ठाउँमा जिल्ला निर्वाचन अधिकृतहरूले केन्द्रीय निर्वाचन समितिको परामर्शमा नयाँ मिति तोकेर अधिवेशन गराउँछन् ।’
कांग्रेसको नयाँ कार्यतालिकाअनुसार गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।