आयोगले बोलायो सर्वदलिय बैठक

8

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।

आयोगले सो अवधिमा भएका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिकाबारे छलफल गर्न बिहीबार ११ बजेका लागि स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाएको हो ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

ती दलका सम्बन्धमा आयोले जाँचबुझ अन्तिम चरणमा पु¥याएको र आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आगामी स्थानीय तहको निर्वाचनमार्फत ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा रहेका ६ हजार ७ सय ४३ वडामा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तहको निर्वाचनमार्फत सबैभन्दा ठूलो संरचना महानगरदेखि तल्लो तहको संरचना वडा तहसम्ममा जनप्रतिनिधि चयन हुनेछन् ।

समाचार वर्गहरू