(काठमाडौं) – भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी जवान सहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
श्रम स्वीकृतिको काम गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेको आरोपमा आयोगको टोलीले प्रहरी जवान रमेशसिंह विष्ट, गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्सका सञ्चालक विनोदकुमार भुजेल, बसन्त श्रेष्ठ, बुद्ध तामाङ र अजय नगर्जी परियार विरूद्ध आइतबार मुद्दा दायर गरेको हो ।
जापान जाने श्रम स्वीकृतिको काम छिटो गरिदिने भनी उनीहरुले सेवाग्राहीसँग २२ हजार रुपैयाँ घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ मा उल्लेख भएबमोजिम र प्रहरी जवान रमेशसिंह विष्टलाई सोही ऐनको दफा ३ को उपदफा (१) को कसुरमा २२ हजार रुपैयाँ बिगो माग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।