कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिएर पाँचै वर्ष सरकार चलाउने दाहालको दाउ

36

काठमाडौँ-  राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलमा सरगर्मी बढेको छ। आफूअनुकूल पात्र वा आफ्नै उम्मेदवारको लागी राष्ट्रपतिमा मुख्यतः सत्तारुढ गठबन्धनमा विवाद छ।

गत पुस १० मा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेको सत्तारुढ प्रमुख घटक नेकपा एमाले आफैँले राष्ट्रपति पाउनुपर्ने अडानमा छ।

त्यसबेला एमाले-माओवादीबीच राष्ट्रपति एमालेले लिने र प्रधानमन्त्री आधा/आधा कार्यकाल लिने सहमति भएको थियो। तर दाहाल अहिले एमालेलाई राष्ट्रपति नदिने बरु राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच भएका पछिल्ला भेटहरूमा पनि पुस १० मा एमालेसँग राष्ट्रपतिमा सहमति भए पनि विश्वासको मतमा कांग्रेसले सहयोग गरेको दाहालले बताउने गरेका छन्।

यही विवादका कारण सत्ता गठबन्धन भत्किने सम्भावना रहेको एमाले-माओवादी नेताहरू बताउँछन्। दाहाल भने ५ वर्ष नै सरकारको नेतृत्व गर्ने चाहनामा छन्। कांग्रेसले पनि राष्ट्रपतिमा माओवादीले समर्थन गरे पाँचै वर्ष सरकार सञ्चालन गर्न दिने संकेत गरेकाे छ।

एमालेसँगको गठबन्धनले सरकार सञ्चालन गर्न गाह्रो भइरहेको प्रचण्डको बुझाइ छ। ओलीले सरकार सञ्चालनमा दाहालमाथी हस्तक्षेप गर्दै आएका कारण एमालेको ठाउँमा कांग्रेस हुनुपर्ने प्रधानमन्त्री दाहालको चाहना छ। ओली सत्ता गठबन्धन संयन्त्रको संयोजक भएदेखि नै दाहाल रुष्ट छन्।

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेर उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)लाई दिने योजनामा प्रधानमन्त्री रहेको बताइन्छ। जसपालाई सत्ता गठबन्धनमा ल्याएर कांग्रेस, माओवादी, जसपासहितको गठबन्धन बनाउने उनको योजना रहेको माओवादीनिकट एक नेताको भनाइ छ।

यही संकेत बुझेर जसपाले पनि राष्ट्रपतिमा भने राष्ट्रिय सहमति गर्नुपर्ने र उपराष्ट्रपति आफैंले पाउनु पर्ने दाबी गर्दै आएको छ। जसपा केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले पनि सो निर्णय गरेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू