राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्छु भन्नुपर्छ – गगन थापा

19

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैं बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रह गरेका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए ।

‘हामीले संसद्बाट एउटा कानुन बनायौँ । गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौँ । नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने । तर नागरिकचाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने । यो गलत हो गर्न पाइँदैन,’ महामन्त्री थापाले भने ।

त्यस्तै उनले राष्ट्रपति पौडेललाई दिल्लीमा लागेको उपचार खर्च आफै बेहोर्न आग्रह गर्दै थापाले भने, ‘ म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानुनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ ।

महामन्त्री थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने धारणा राखे । ‘कांग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरु दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौं,’ थापाले भने, ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौं ।’

उम्मेदवार छनोट गर्ने पार्टीको हालको अभ्यास पनि बेठीक रहेको उनले बताए । ‘पार्टीका केही नेताहरु बसेर उम्मेदवार छान्ने अभ्यासले हामीलाई ठीक ठाउँमा पुर्‍याएन’ थापाले भने ।

केन्द्रीय सदस्य नैनसिंह महरले २० औं वर्ष प्रतिपक्ष बस्न परेपनि चुनावी गठबन्धन गर्नै नहुने तर्क राखे । उपनिर्वाचनले कांग्रेसलाई सच्चिने अवसर दिएको उनले सुनाए । ‘नेतृत्वलाई सचेतना आएको बुझेको छु । हामीमाथि लागेका आरोप व्यवहारले खण्डन गर्न सक्नुपर्छ’, महरले भने ।

सहमहामन्त्री बद्री पाण्डेले मजदुर आन्दोलनको योगदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था आएको सुनाए । पछिल्लो समय ट्रेड युनियनलाई विकासका वाधक हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिएको प्रति उनले असन्तुष्टि जनाए ।

‘ट्रेड युनियन विकासका साधक होइन, विकासका बाधक भए भन्ने प्रश्न आएको छ’, सहमहामन्त्री पाण्डेले भने, ‘विद्यार्थी र मजदुर आन्दोलनबाट यो अवस्थामा आएको बुझेनन् भने उनीहरु पूर्वाग्रही छन् ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू