बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह

17

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो ।

कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले आइतबार विज्ञप्तिमार्फत सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको छ ।

प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू