सिआइबीको निसानामा पूर्वमन्त्री र सचिवहरू

23

काठमाडौं – ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ।

पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो। बस्नेत नेपालमा नभएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले आइतबार अपराह्न बहालवाला सचिव राउतलाई भारत जान लागेको भन्दै नियन्त्रणमा लिएको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसबाहेक ब्युरोले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। बालुवाटार जग्गा हिनामिना प्रकरणमा अख्तियारले अभियुक्त बनाएकाहरूमा पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्रीहरू श्रेष्ठ, जोशी तथा पूर्वसचिवहरू पन्त, बस्न्यात र अधिकारी पक्राउ परेका छैनन्। उनीहरूलाई पनि ब्युरोले पक्राउ गर्ने तयारी गरेको छ।

ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले पक्राउ पुर्जी जारी भएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताइन्। ‘सरकारी जग्गा हिनामिना गरेको आरोप जस–जसलाई छ, प्रमाणले जस–जसलाई अनुसन्धान गर्न भनेको छ, त्यही आधारमा पक्राउ गरी अनुसन्धान गरिनेछ’, उनले भनिन्।

ब्युरोले आइतबार यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ।

ललितानिवासको जग्गा व्यक्तिका नाममा पास गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले तत्कालीन सचिवहरू बस्न्यात, पन्त, अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ। पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीरकुमार शाह पक्राउ परिसकेका छन्। ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

हाल ब्युरोले ललितानिवासको जग्गा हिनामिनामा चारवटा मुद्दामा अनुसन्धान गरिरहेको छ। ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ। यो मुद्दामा अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा, शोधभर्ना दिएको भन्ने २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जग्गा सट्टापट्टा र शोधभर्ना मुद्दामा २५ रोपनी ७ आना १ पैसा १ दाम अपचलन भएको प्रहरीले जनाएको छ। २०४९ सालदेखि २०६९ सम्मको अवधिमा ललितानिवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको किर्ते मुद्दामा पनि ब्युरोले अनुसन्धान गरिरहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू