काठमाडौं – झण्डै एक बर्षपछी बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज(मंगलबार) बस्दैछ।
२०७९ साल असार २७ देखि २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बसेको थियो। त्यसपछीको बैठक आज बस्न लागेको हो ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकका लागि लागि १० वटा एजेन्डा तय गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।
एजेन्डाका रूपमा समसामयिक राजनीतिक विषय रहनेछ। यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने छ।
त्यसैगरी बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत एजेन्डाका रुपमा प्रस्तुत हुनेछ। कार्यसम्पादन समितिले गरेका निर्णयहरुको अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने जनाइएको छ।
केन्द्रीय कार्यसमिति बैठकमा विभागहरु गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ। अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ।