काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बैठकमा आरोप-प्रत्यारोप चल्नु स्वभाविक रहेको बताएका छन् ।
बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवा पुगेका देउवाले नेपाली कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप-प्रत्यारोप हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक शनिबार एक दिनका लागि स्थगित गरेर सुनसरी पुगेका देउवाले बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण समेत गरेका थिए । इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँमा निर्माण गरेको बीपीको सालिक सम्पन्न भएको चार वर्षपछि अनावरण शनिबार गरिएको हो ।
१५ जनाभन्दा धेरै केन्द्रीय सदस्यहरुसहित सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेसको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर कांग्रेसले उत्कृष्ट काम गरेको दाबी गरे ।
ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो, सक्कियो भन्ने मानसिकता पाल्न नहुने पनि देउवाको भनाइ थियो ।