काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको प्रस्ट पारेका छन्।
बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि भएको दाबी गरेका हुन्।
‘महाराजधिराजले शासन गरेर छोड्दै गर्दा ३० प्रतिशत मात्रै घरमा पानी पुगेको थियो। मरुभूमिजस्तो मानिसको आँगनमा धारा पुग्यो। पुर्याउने काम हामीले नै गर्यौँ’, महामन्त्री शर्माले भने, ‘पञ्चायतमा २२७ मेगावाट मात्रै थियो, तर गणतन्त्रमा २ हजार ६६६ मेगावाट बिजुली उत्पादन भएको छ।’
उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको दाबी गरे। ‘देश बनेको छैन, केही भएन भन्नेहरू होसियार!’ महामन्त्री शर्माले भने, ‘भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो। अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुपर्छ।’
सबै पार्टी खराब हो भनेर मिसन ८४ चलाएकातर्फ संकेत गर्दै महामन्त्री शर्माले कांग्रेस ८४ को पक्षमा नरहेको बताए। ‘मिसन ८४ भन्नेहरूलाई शुभकामना! पुराना दलका केपी ओली र नयाँ रवि लामिछानेलाई शुभकामना छ। संविधान, हिंसा अन्त्य गर्नुपर्ने केही छैन, ८४ मा हुने कुरा हो, विद्यार्थीले परीक्षाको होइन, पढाइको चिन्ता गर्नुपर्छ’, उनले भने।
‘आश्वासन बाँडेर बस्ने छुट हामीलाई छैन, हामी गर्नका लागि खटिएको पार्टीका कार्यकर्ता हौं, हामीलाई ०८४ सम्म कुर्नुपर्दैन, खुरुखुरु काम गरौं,हामीलाई बसेर गफ लगाउने छुट छैन’ नेता शर्माले भने ।