डीडीसीको दूध नबिक्दा देशभर ७१ करोड बक्यौता, मारमा किसान 

6

काठमाडौं – विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ र पाउडर गरेर १ सय ३३ टन दुग्ध पदार्थ स्टकमा छ। भण्डारण कक्ष कुनै खाली छैनन्। बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपुण बन्दै गएको छ।

दुग्धपदार्थ बिक्री नभएपछि आयोजनाले कृषकबाट खरिद गरेको दूधको पुस महिना देखिको ३० करोड रुपयाँ भुक्तानी दिन सकेको छैन। आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको आयोजनाले जनाएको छ। जम्मा भएको दूधमध्ये दैनिक ५ हजार लिटर स्थानीय बजारमा हुने गरेको छ भने अरू प्रशोधन गरेर घिउ र पाउडर दूध बनाउने गरेको आयोजना प्रमुख परमेश्वर चौधरीले बताए।

आयोजनाले केन्द्र सरकारसँग ऋण लिएर किसानको दूधको रकम भुक्तानी गर्ने प्रयास गरिरहेको छ। दुग्ध पदार्थ बिक्री नहुँदा मिल्क होलिडे सुरु हुने त्रासमा कृषक पर्न थालेका छन्। घिउ र छुर्पी बिक्री नभएपछि निजी क्षेत्रका डेरीलेसमेत किसानको दूधको भुक्तानी दिन ढिला गर्न थालेपछि कृषकहरू अप्ठ्यारोमा परेका छन्।

दैनिक सय लिटर दूध बिक्री गर्दै आएका इलामको सूर्योदय नगरपालिका–११ माघेका कृषक डिल्लीराम खतिवडाले घिउ छुर्पी बिक्री नभएपछि निजी डेरीहरूले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएर भुक्तानी गर्न थालेको बताए। उनले भने, ‘अहिले किसानले ५० रुपैयाँ प्रतिलिटरमा दूधको मूल्य पाउन थालेका छन्। यसअघि गुणस्तरको आधारमा प्रतिलिटर ७० रुपैयाँसम्म दूधको मूल्य पाएका थिए। कतिपय निजी डेरीले दुग्ध बिक्री गर्ने कृषकलाई मासिक घिउ खरिद गर्नुपर्ने नियम लगाएका छन्। दैनिक पाँच लिटर दूध बिक्री गर्ने कृषकले मासिक रूपमा १ किलो घिउ खरिद गर्नुपर्ने नियम लगाएपछि पशुलाई दाना खुवाउन पनि ऋण काड्नु पर्ने अवस्था आउन लागेको कृषक खतिवडाले बताए।

आयोजनाले पनि घिउ, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ। आयोजना प्रमुख चौधरीले दूधको भुक्तानी दिन नसकेको भन्दै सहजी करणका लागि कोसी प्रदेशलाई गुहारेका छन्। पछिल्लो समय निजी डेरीले दूध खरिद गर्न आनाकानी गर्न सुरु गरेपछि दुग्ध संकलन गर्ने सहकारी र कतिपय निजी डेरीले क्षमताभन्दा बढी दूध खरिदका लागि दबाब दिन थालेको बताए। सूर्योदय नगरपालिका–१२ का कृषक भूपेन्द्र गड्तौलाले आयोजनाले कृषकको दूध खरिद गर्न अस्विकार गर्न नमिल्ने बताए। उनले भने, ‘डीडीसी सरकारको निकाय हो, उसले किसानको दूध खरिद गर्दिन भन्न मिल्दैन।’

दुग्ध विकास संस्थानको तथ्यांकअनुसार अहिलेको सिजनमा देशभरबाट हाल दैनिक १ लाख ९३ हजार लिटर दुग्ध संकलन हुने गरेको छ। दुग्ध विकास संस्थानले विराटनगर, धनगढी, हेटौंडा, जनकपुर, काठमाडौं, लुम्बिनीलगायतका आयोजनाबाट दुग्ध संकलन, प्रशोधन र संकलन गर्दै आएको छ।  विराटनगर आयोजनाले असोजदेखि चैतसम्मको फ्लस सिजन अथवा धेरै दुग्ध उत्पादन हुने समयमा दैनिक २० हजार लिटर दुग्ध संकलन गर्ने गरेको छ भने वैशाखदेखि भदौसम्मको लिन सिजनमा दैनिक १२ हजार लिटर दुग्ध संकलन हुने गरेको जनाएको छ।

धादिङ आयोजनाले लिन सिजनमा २ हजारदेखि ३ हजार  र फ्लस सिजनमा ६ हजार ५ सयदेखि ७ हजार लिटर दुग्ध संकलन गर्ने गरेको छ। हेटौंडा आयोजनाले लिन सिजनमा १२ हजार र फ्लस सिजनमा २८ हजार लिटर, जनकपुर आयोजनाले लिन सिजनमा २ हजार २ सय र फ्लस सिजनमा ५ हजार लिटर दुग्ध संकलन गर्ने गरेको छ।

काठमाडौं आयोजनाले लिन सिजनमा ४५ हजार र फ्लस सिजनमा ८० हजार लिटर, लुम्बिनी आयोजनाले लिन सिजनमा १५ हजार र फ्लस सिजनमा ३५ हजार लिटर, दुग्ध उत्पादन बिक्री आयोजना लैनचौर आयोजनाले लिन सिजनमा ३ हजार र फ्लस सिजनमा ७ हजार लिटर र नेपालगञ्ज आयोजनाले लिन सिजनमा ४ हजार र फ्लस सिजनमा १२ हजार लिटर दुग्ध संकलन गर्ने गरेको सस्थानले जनाएको छ।

मारमा किसान

इलामको सूर्योदय नगरपालिका–११ को ज्योति पुञ्ज गाईफार्म सञ्चालक गोपाल भट्टराईको आम्दानीको मुख्य स्रोत नै दुग्ध उत्पादन हो। उनी हरेक दिन ६० लिटरभन्दा माथि दुग्ध स्थानीय सुप्रभात डेरी उद्योगलाई बिक्री गर्छन्। पछिल्लो समयमा डेरीमा थन्किएको घिउ छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ। उनी भन्छन्, ‘चिया खेतीको भर भएन किसानको हातमुख जोड्ने बाटो बनेको दुग्ध पनि विकेन भने किसानको घर–घरमा अभाव छिर्ने खतरा बढेको छ।’

इलाममा दुग्ध विकास संस्थान (डीडीसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब ४ हजार परिवार कृषककको जस्तै चिन्ता छ। इलामका किसानले दैनिक ३३ लाखको हाराहारीको दुग्ध बिक्री गर्ने गरे पनि दुग्ध उत्पादक कृषकको अवस्था भने कहिलै उकालो नलागेको अनुभव छ राष्ट्रिय कृषक समूह महासंघ देउमाई नगरपालिकाका अध्यक्ष कृष्ण बरालको।

सूर्योदय नगरपालिका–११ भालुखोपका गाईपालक कृषक कुमार रेग्मी पनि असुरक्षित बजारको कारण दुग्ध उत्पादक फर्महरू नाफामा जान नसकेको बताउँछन्। उनी भन्छन, ‘पशु आहाराको मूल्य अकासिए पनि किसानले पाउने दुग्धको मूल्य केहिल्यै उत्पादन लागतको आधारमा वृद्धि नभएकाले फर्महरू संकटमा पर्न थालेका छन्।’

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ।  निजी डेरीमा मात्रै १ हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन्। इलामका १० वटै स्थानीय तहमा गाईपालक कृषकहरूको सघन उपस्थिति छ।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध संकलन गर्ने आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दुग्ध बिक्री हुने गरेको छ। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ। ललिपप, बम्बैसन जस्ता मिठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा सम्लग्न व्यवसायीहरू वताउँछन्। इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।

इलाममा वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३ सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ। गाई पालनमा किसानको ठूलो लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय संकटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघका इलाम अध्यक्ष विष्णु दुलाल बताउँछन्।

देशभर ७१ करोड बक्यौता 

भुक्तानीका लागि भरपर्दो ठानिएको दुग्ध विकास संस्थान यस वर्ष भने सामान बिक्री नभए पछि अप्ठ्यारोमा परेको छ। संस्थानले किसानबाट खरिद गरेको दूधको भुक्तानी मात्रै पनि कात्तिक मसान्तसम्मको ७१ करोड बाँकी छ।  अन्नपुर्णपोष्ट दैनिक

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू