काठमाडौं – निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाताको पहिचान गर्ने प्रमाणपत्र सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार आयोगको सोमबार बसेको बैठकले इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को प्रदेश सभा सदस्य १ को उपनिर्वाचनका लागि २०८१ मा मतदाता पहिचान गरी मतदान गर्न पाउने व्यवस्था मिलाउने सम्बन्धमा सो निर्देशन दिएको हो ।
उपनिर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगले जनाएको छ ।