चालू आर्थिक वर्षको पहिलो महिनामा खर्चभन्दा आम्दानी दोब्बर

45

काठमाडौं – चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनामा सरकारको खर्चभन्दा आम्दानी दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा सरकारले ९४ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ ।

जुन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्बको ६.६८ प्रतिशतबराबर हो । यस अवधिमा सरकारले ७७ अर्ब ४१ करोड कर राजस्व र १७ अर्ब ३३ करोड गैरकर राजस्व संकलन गरेको हो । सरकारले दुई अर्ब २१ करोड अन्य प्राप्तिसमेत गरेर कुल ९६ अर्ब ९५ करोड रुपैयाँ प्राप्ति गरेको छ । जुन खर्चको तुलनामा ५६ अर्ब ७५ करोड रुपैयाँले बढी हो ।

साउन महिनामा सरकारले कुल ४० अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल वार्षिक बजेट १८ खर्ब ६० अर्बको २.१६ प्रतिशतबराबर हो । यस अवधिमा सरकारले चालूतर्फ १२ अर्ब ३८ करोड, पुँजीगततर्फ ८५ करोड र वित्तीय व्यवस्थातर्फ १९ अर्ब २७ करोड खर्च भएको हो ।

सरकारले गएको आर्थिक वर्षको पहिलो महिनाको तुलनामा राजस्व संकलन र खर्च दुवै बढाएको छ । गत आवको साउनको तुलनामा चालू आवको साउनमा राजस्व संकलन १५ अर्ब ८७ करोड र खर्च पाँच अर्ब १७ करोडले बढी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

समाचार वर्गहरू