काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान) अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सागर पाण्डे निर्वाचित भएका छन्।
पर्यटन व्यवसायी पाण्डेले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै जित हात पारेका हुन्।
यस्तै वरिष्ठ उपाध्यषमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितिय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।
त्यसैगरी महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले जीत हात पारेका छन् ।
सोमबारबाट सुरू भएको टानको ४६ औं साधारण सभामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट खेमाले पाण्डेलाई सघाएको थियो। पाण्डे निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै खुसी बाँड्ने अवसर मिलेको भन्दै प्रतिक्रिया जनाएका छन्।
‘शुभ प्रभात! बिहानै खुशीको खबर बाड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको अथक मिहिनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दह्रो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु!,’ अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्।