एक सयमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई तीन लाख जरिबाना

62

काठमाडौं – वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

एमआरपी मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो ।

जिम्बु थकालीले महानिर्देशक पौडेललाईसमेत पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर ठगेको थियो ।

उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिबानासहित सचेत गराएको जानकारी दिए ।

उनले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए ।

समाचार वर्गहरू