लक्ष्मीपूजाको दिन समेत २५३ मेगावाट भारत निर्यात

146

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ ।

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

गत वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

विवरण लक्ष्मीपूजा १५ कात्तिक २०८१ लक्ष्मीपूजा २६ कात्तिक २०८०
नेपाल विद्युत् प्राधिकरण (जलाशययुक्तबाहेक) ३९९मेगावाट ४२६ मेगावाट
विद्युत प्राधिकरणका सहायक कम्पनी ८९ मेगावाट ५२२ मेगावाट
निजी क्षेत्र १३०४ मेगावाट ९९७ मेगावाट
विद्युत प्राधिकरण (जलाशययुक्त) ६२ मेगावाट १६ मेगावाट
निर्यात २५३ मेगावाट ५१७ मेगावाट
राष्ट्रिय प्रणालीको पिक डिमाण्ड (निर्यातबाहेक) १६०२ मेगावाट १४३८ मेगावाट
प्रणालीको पिक डिमाण्ड (निर्यातसहित) १८५५ मेगावाट १९५५ मेगावाट
काठमाडौं उपत्यकाको विद्युत् माग ३९० मेगावाट ३६६ मेगावाट
स्रोत : नेपाल विद्युत् प्राधिकरण ।

समाचार वर्गहरू