उपत्यका सहित पहाडी क्षेत्रमा रङहरूको पर्व होली मनाइँदै

21

काठमाडौं – काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा आज (बिहीबार) फागु (होली) पर्व मनाइँदै छ ।

रङहरूको पर्वका रुपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

विभिन्न रंगीचंगी कपडाले सजिएको चीर ठड्याएपछि शुरू हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा यही फागुन २३ गते तीनखण्डे चीर ठड्याएसँगै यस वर्षको होली विधिवत सुरु भएको थियो ।

हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहँदै आएको छ ।

प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ । तराई-मधेसका जिल्लामा भने शुक्रबार होली मनाइँदै छ ।

समाचार वर्गहरू