अन्तत: सरकारसँग संवाद गर्न तयार आन्दोलनरत शिक्षक

153

काठमाडौं – सरकारले पटक–पटक आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासंघ शिक्षा मन्त्रालयसँग संवाद गर्न तयार भएको छ ।

शिक्षा सचिव दीपक काफ्लेले ‘शिक्षा विधेयकमा छलफल गर्न’ भन्दै बुधबार पत्राचार गरेपछि महासंघले मन्त्रालयसँग बिहीबार छलफल गर्ने तयारी गरेको हो ।

महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले विधेयकमाथि छलफल गर्न भनेर शिक्षा सचिवले बोलाएका कारण समय मिलाएर जाने निर्णय भएको जानकारी दिइन् । ‘वार्ताका लागि भन्दा पनि छलफलमा हामी जाने हो,’ उनले भनिन्, ‘हामी छलफलमा गए पनि आन्दोलन जारी रहन्छ ।’

शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् । अर्को साता नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले दुवै पक्ष आन्दोलन रोक्नुपर्ने दबाबमा छन् ।

सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।

समाचार वर्गहरू