मेयरलाई विद्यार्थीले सोधे – हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

72
फोटो रासस

काठमाडौं – सर्लाहीको हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी प्रश्न गरेका छन् ।

हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताएका हुन् ।

हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको हरिपुर्वा नगरपालिका–४ स्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी अविनाश भणडारीको भनाइ थियो ।

“विद्यालय विद्यालयजस्तो छैन”, छात्र भण्डारीले भने, “विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु ?”, लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उनको भनाइ छ ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहले विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको बताइन् । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उनले बताइन् ।

कार्यक्रममा नगरप्रमुख साहले छात्रछात्राको प्रश्न तथा जिज्ञासा सुनिसकेपछि उनले पनि आफ्ना गुनासो गर्दै निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँदैमा व्यस्त भएको भनाइ राखे ।

“बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” नगर प्रमुख साहले भने यो, “ लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ ।”

समाचार वर्गहरू