प्रधानमन्त्री ओलीले ‘बहिष्कार’ गरे मानव अधिकार आयोगको कार्यक्रम

101

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रम ‘बहिष्कार’ गरेका छन् ।

आयोगको रजतजयन्ती (२५औँ वार्षिकोत्सव)को अवसरमा आयोजित कार्यक्रममा मंगलबार उनलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । सोमबारसम्म कार्यक्रममा जाने तय भएकोमा ओलीले मंगलबार बिहान कार्यव्यस्तता देखाएर रद्द गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली मंगलबारै अन्य तीन कार्यक्रममा भने सहभागी भएका थिए ।

आइतबार पार्टीको प्रशिक्षण कार्यक्रममा ओलीले ‘१५ गते ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्दै त्यसको तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले आन्दोलनमा कुनै ‘प्रोटोकल’ नहुने भनेरसमेत कार्यकर्तालाई ‘उत्तेजित र उग्र’ बन्न उक्साएका थिए ।

राजावादीहरूले १५ जेठका लागि पहिल्यै तय गरेको आन्दोलनलाई काउन्टर दिने गरी ओलीको निर्देशन आएपछि भोलिपल्ट सोमबार मानव अधिकार आयोगले पनि प्रेस विज्ञप्ति जारी गरेर ओलीको अभिव्यक्ति ‘विधिको शासनविपरीत भएको र निषेधलाई प्रश्रय गरेको’ भन्दै सचेतसमेत गराएको थियो ।

आफ्नो आलोचना भएपछि प्रधानमन्त्री आयोगको कार्यक्रममा नगएको स्रोत बताउँछ । ‘प्रधानमन्त्रीकै प्रमुख आतिथ्यमा रजतजयन्ती मनाउन सबै तयारी गरेका थियौँ, प्रधानमन्त्रीलाई आयोगका समस्या सुनाउनेसमेत योजना थियो,’ आयोगका एक उच्च अधिकारीले भने, ‘बिहान ८ बजे एक्कासि कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी पायौँ, सायद प्रधानमन्त्रीज्यूलाई सोमबार आयोगले जारी गरेको विज्ञप्ति मन परेन होला ।’

समाचार वर्गहरू