काठमाडौं – आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वदको सुरुवात भएको भन्ने मान्यता छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा लगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ ।