अख्तियारमा स्थानीय तहका उजुरी धेरै

18

नेपालगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । बाँके, बर्दिया र दाङ कार्यक्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा परेका मध्ये करिब आधा उजुरी स्थानीय तहका छन् ।

मङ्सिर मसान्तसम्म परेका ४३३ उजुरीमध्ये २१५ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । स्थानीय तहको संघीय मामिलातर्फ १३० र शिक्षातर्फ ८५ वटा उजुरी अनुसन्धानमा रहेको अख्तियारको नेपालगञ्जस्थित कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिए ।

उनका अनुसार अख्तियारमा स्थानीय तहपछि सबैभन्दा बढी उजुरी वन र वातावरण क्षेत्रका ५० वटा रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका ३४ वटा तथा प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका १५ र गृह मन्त्रालयअन्तर्गतका १३ वटा उजुरी चालु आर्थिक वर्षको मङ्सिरसम्म परेका छन् ।

काम गर्ने कार्यविधि, ठेक्का प्रणाली, मापदण्ड, उपभोक्ता समिति गठनका विषयहरु उजुरीका रुपमा आएको कार्यालय प्रमुख गैरेको भनाइ छ । अहिले स्थानीय तहमा शिक्षा गएपछि उजुरी आउने क्रम थपिएको र विकासमा गुणस्तर, परिणाम र मापदण्डको विषय बेथितिका रुपमा बढ्दै गएको उनले बताए ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू