अग्नि सापकोटाको मुद्दामा अन्य आदेश, फेरि सुरुदेखि नै सुनुवाइ गर्नुपर्ने

103

काठमाडौं – पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश भएको छ । आदेश के भयो भन्ने भोलि (बिहीबार)मात्र सार्वजनिक हुने सर्वोच्च अदालतले जनाएको छ ।

१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन पूर्वसभामुख तथा माओवादी नेता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

‘मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, भोलिसम्म त्यसको पाठ तयार भएपछि मात्रै थाहा होला’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले भने, ‘आदेशको विवरण थाहा नहुदासम्म यसबारेमा थप बताउन सकिएन ।’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले १९ असोजमा अवकाश पाउने भएकाले भएकाले यो मुद्दा फेरि सुरुदेखि सुनुवाइ गर्नुपर्ने देखिएको छ । श्रेष्ठले अवकाश पाएपछि ५ सदस्यीय संवैधानिक इजलासमा अर्को न्यायाधीश संलग्न हुनेछन्, त्यस अवस्थामा यो मुद्दाको सुनुवाइ फेरि सुरुदेखि नै गर्नुपर्नेछ ।

१२ वैशाख, २०८१ मा पछिल्लो पटक सुनुवाइ गरी डेढ महिनापछि निर्णय सुनाउने मिति तोकेको संवैधानिक इजलासले पटकपटक मिति सारेको थियो । निर्णय सुनाउने मिति दुई पटक सारेर १२ भदौमा अन्तिमपटक मिति तोकिएको थियो । त्यसपछि ९ असोजका लागि मिति तोकिएको हो ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

समाचार वर्गहरू