काठमाडौं – सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित विशेष कार्यक्रममा लामो समयदेखि कार्यरत कर्मचारीका साथै विशिष्ट ग्राहकहरुलाई सम्मान गरिएको छ ।
सो अवसरमा अटो एभलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको सफलताको कामना गरे । उनले अटोमोबाइल व्यवसायीलाई व्यवसायका लागि सहज वातावरण बनाइदिन आग्रह गरे ।
व्यवसायीले तिर्ने राजस्वका कारण नै सरकार सञ्चालन गर्न सहज भएको बताउँदै उनले अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले सम्मान गर्ने वातावरण बनाउनु पर्ने बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नाडाका सचिव अनुप बराल लगायतले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुका साथै भविष्यमा समेत सफलताको शुभकामना प्रदान गरे ।
सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पका आफ्टर सेल्स सर्भिसका डीजीएम श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कर्मचारीहरुलाई जाने बताए । अटो एभले ९१ प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिदै उनले यहाँ उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा ब्यक्त गरे ।
अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले ग्राहक र मेकानिक्सहरुको साथ सहयोगले नै दशौं वार्षिकोत्सव मनाउन सफल भएको बताउदै सबैलाई धन्यवाद ज्ञापन गरे ।
अटो एभका डाइरेक्टर दीपेन्द्र डंगोलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अटो एभमा लामो समय देखि कार्यरत टेक्निसियनका साथै मूल्यवान ग्राहकहरुलाई सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंयोल र अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले अनाथहरुको सेवाका लागि कार्यरत प्रणवानन्द आश्रमलाई २१ हजार १ रुपैयाँको चेक हस्तान्तरण गरे । मधुसूदन सिग्देल, दीपेन्द्र डंगोल र दीलिप सिग्देलको सहकार्यमा सुजुकीको आधिकारिक सर्भिस सेन्टरको रुपमा काठमाडौंको मित्रपार्कमा अटो एभको स्थापना २०६६ सालमा भएको थियो ।