चितवन – विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज (सीएमसी) प्रशासन सहमत भएको छ । सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज (सीएमसी) सहमत भएको हो ।
यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफलमा सो सहमति जुटेको हो । कलेज प्रशासनले प्रतिवद्धता जनाएसँगै कलेजमा सञ्चालन भएको झण्डै एक महिने आन्दोलन पनि फिर्ता भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्वपक्षीय वार्ताबाट पाँच बुँदे सहमति जुटेको जानकारी दिए ।
बैठकले शुल्क सम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक (एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
आन्दोलनरत विद्यार्थीका अगुवा प्रकाश चन्दले भने सहमति कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने बताए । सहमतिसँगै आइतबारबाट नै पठनपाठन सुरु हुने छ । चितवन मेडिकल कलेजमा भदौ ५ गतेदेखि नै आन्दोलन सुरु भएर पढन पाठन प्रभावित भएको थियो । भदौ १५ गतेदेखि विद्यार्थीले सडक संघर्ष नै सुरु गरेका थिए । सडक संघर्ष चर्कदै गएपछि मेडिकल कलेज प्रशासनले नै भदौ २७ मा सूचना निकालेर सबै शैक्षिक कार्यक्रम बन्द भएको जानकारी गराएको थियो ।