(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले सोमबार जारी भएका दुई अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित हुन अपील गरेका छन् ।
सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।
सोमबार मन्त्रिपरिषद्ले पास गरेका संवैधानिक परिषद् सम्बन्धी र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।
कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै सभापति देउवाले दुबै अध्यादेशप्रति असहमति जनाएका छन् । ‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’
कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलेको भन्दै कांग्रेसले इतिहासकै सबैभन्दा दुखद् घटना भएको बताएको छ ।
