काठमाडौं – सरकारी सेवा प्रवाह छिटो र छरितो गर्न लाइनको विकल्पमा अनलाइन सेवा ल्याइयो। तर, अनलाइन सेवा झन्झटिलो बनेको सेवाग्राहीको भोगाइ छ। कन्सुलर सेवा विभाग नारायणहिटीमा पुगेकाहरूको दुःखलाई हामीले नजिकबाट नियालेका छौँ।
कमाउन, पढ्न तथा घुम्नका लागि मानिस विदेश जान्छन्। प्रहरीको चारित्रिक प्रमाणपत्र लिएपछि कन्सुलर विभागको छाप नलगाई उड्नै पाइँदैन। यो प्रक्रिया पूरा गर्न सजिलो छैन। विशेष गरी काम र मामको खोजीमा परदेसिने युवाहरूको भीड कन्सुलर विभागमा धेरै हुन्छ। पहिला लाइन लगाएर २ हजार ५ सय बढीलाई सेवा दिइन्थ्यो। गत भदौ १३ गतेबाट अनलाइनमार्फत विभागले कागजात प्रमाणीकरण थाल्यो। अहिले १ हजार हाराहारीलाई मात्रै सेवा दिन्छ। आइतबार बिहान ४ बजेदेखि साँझसम्म हामीले विभागको दृश्यलाई नियालेका छौं।
‘के छ तपाईंको हालखबर ?’ उनी केही बोलेनन्।
केहीबेर पछि बोले, ‘हाल त बेहाल छ। ३ बजे होटलबाट आ’को।’
लमजुङका सन्तोष विसुरालले पीडा सुनाए। ‘के कामले आउनुभयो ?’
‘छाप लगाउन आ’को। विदेश जाँदै छु।’
उमेरले ३५ मात्रै पुगेका छन्। ‘यो संसारमा दुखियालाई कहीँ सुख छैन,’ पीडाको पोको खोले, ‘विदेशमै हुँदा फिस्टुलाले च्याप्यो। रोग र रित्तो गोजी लिएर बोकेर गत कात्तिकमा घर आएँ। फिस्टुलाको अपरेसन गराएँ। ४ लाख ऋण लागेको छ। त्यही ऋण तिर्न फेरि विदेश जाँदैछु।’
भावुक हुँदै थपे, ‘२५ हजार ऋण खोजेर कागजमा छाप लगाउन आएको। खल्ती रित्तियो। काम सकिएकै छैन।’ यसो भन्दै गर्दा उनको गला अवरुद्ध भयो। सुँक्क—सुँक्क गर्न थाले।
भदौ ८ गते सन्तोष प्रहरी रिपोर्ट लिन र प्रमाणीकरण गर्न काठमाडौं आएका हुन्। ‘तीन दिन लगाएर प्रहरी रिपोर्ट लिएँ। त्यही रिपोर्टमा छाप लगाउन बिहीबारै फारम भरेँ। चार दिन भो। फारम एसेप्ट गरेको म्यासेज आएको छैन,’ फेरि भने। गाडी भाडा, होटल खर्च, फारम भर्दाको खर्च र छाप लाउन तिरेको दस्तुरले बेखर्ची भएका छन्।
उनी जस्ता हजारौं गरिब युवाहरूलाई अनलाइनको सेवा सहज होइन, सास्ती र खर्चिलो भएको छ।
‘अनलाइनले सेवा सहज भयो’ भनेर प्रहरी र कन्सुलर विभागले दाबी गरिरहेका छन्। झट्ट सुन्दा लाग्छ पनि त्यस्तै। तर, वास्तविकता सन्तोष जस्ता युवालाई मात्रै थाहा छ। ‘प्रहरी र कर्मचारीलाई अनलाइनले सहज त बनायो होला, साइबरवाला र होटलवालाको कमाई पनि दोब्बरै भयो होला’, सन्तोष भन्छन्, ‘तर, हाम्रो दुःख र खर्चको कुरै नगरूम्।’
हामीले उनलाई कन्सुलर सेवा विभाग नारायणहिटीको गेटमा बिहान ७ बजे भेटाएका थियौं।
‘कहाँ जाने, के गर्ने थाहा छैन’
सेवाग्राहीहरू राति ३ बजेदेखि नै कागजात प्रमाणित गर्न कन्सुलर सेवा विभाग पुग्दा रहेछन्। बुटवलका २६ वर्षीय ओम राना ४ः३० बजे भेटिए। प्रहरी प्रतिवेदन लिन आएका रहेछन्। ‘उक्त प्रतिवेदन बनाउन कहाँ जाने, के गर्ने थाहा छैन,’ उनले भने, ‘राति नै आएर लाइन लागेको। जानकारी दिने पनि कोही छैन।’
कार्यालय बिहानै खोलिनुपर्छ
गाउँबाट राजधानी आएकाहरू मध्यरातबाटै कन्सुलर विभाग आइपुग्छन्। कोही भोकै रातभरि बस चढेर आएका छन् त कोही पहिरो पन्छाउँदै।
म्याग्दीका गोरखबहादुर जुगजाली नाता प्रमाणितको काम लिएर आएका छन्। ‘सेवाग्राही रातिदेखि नै आउँछन्,’ उनले भने, ‘कामचाहिँ १० बजेपछि मात्रै हुन्छ। भीड हुने कार्यालय बिहानैबाट खोलिनुपर्छ।’
गोरखाका जोसेफ गुरुङ र राम घले ५ः३६ मा भेटिए। डकुमेन्ट प्रमाणीकरण गर्न आएका रहेछन्। अनलाइन फारम भरे। ३ दिन भयो। फारम स्वीकृत भएको कोड म्यासेजमा आएको छैन। ‘अनलाइनले काम झन् ढिलो भइरहेको छ,’ एकै स्वरमा भने, ‘पहिला बिहानै लाइन बस्दा बेलुकासम्ममा सकिन्थ्यो।’
अनलाइनले झन् सास्ती
रोजीरोटीको खोजीमा युवा खाडी पस्छन्। कन्सुलर विभागको छाप नलगाई उड्न पाइँदैन। यही छाप लगाउन पनि झन्झट छ, ती युवाहरूलाई।
‘अनलाइनले सजिलो भयो भनेर समाचारमा आउँछ। तर, पहिलाभन्दा सास्ती थपियो,’ ड्युटीका प्रहरी आपसमा कुरा गर्दै थिए, ‘बिचरा कति ऋण खोजेर आउँछन्, भोकै भौतिरिन्छन्। हामीले के गर्न सक्छौं र ?’ कार्यालय भित्रको काम सहजै भए पनि २–२ पटक फारम भर्न नै सेवाग्राहीलाई हैरान रहेको उनीहरूको भनाइ थियो।
उज्यालोले अँध्यारोलाई चिर्दै गयो। सेवाग्राहीले गेट भरिन थाल्यो। म्याग्दीकी ३८ वर्षीया पूर्णिमा पुन बेल्जियम जाने तयारीमा छिन्। ‘दुई हप्ताअघि कागज प्रमाणित गरेको एउटा बिग्रियो,’ ६ः१२ मा उनले भनिन्, ‘बर्खाको समय पहिरोले सडक छिनछिनमा थुनिने। खर्च पनि धेरै हुन्छ। यहाँ आयो लाइन नै लाइन।’ कागज मिलाउँदा नै हैरान हुने उनले सुनाइन्। अन्नपुर्णपोष्ट दैनिक बाट ।