अन्तरजातीय बिहेको निहुँमा जुम्लामा घर जलाइयो

13
फोटो - कान्तिपुर

काठमाडौं – दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् ।

जुम्लाको तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् ।

उमेर नपुगेका कारण बिहे अवैध भए कानुनअनुसार कारबाही हुनुपर्नेमा घर नै जलाइदिएकोले कारबाही गरिने प्रहरीको भनाइ छ ।

मुकुन्दका दाजु भरत नेपालीका अनुसार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन् ।

पाँच वर्षअघि मात्रै बनाएको घरमा आगो लागेपछि भरतको परिवार विस्थापित भएको छ । मुकुन्द पनि परिवारका कसैको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् । ‘न भाइ मुकुन्द सम्पर्कमा छ न त घर नै रह्यो,’ भरतले भने, ‘जातीयताका आधारमा गरेको यो अत्याचार सहनलायक होइन ।’

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । ‘पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ,’ जोशीले भने ।

सदरमुकाममा बसेर पढ्दै आएका मुकुन्द १२ कक्षा सकेर स्नातक पढ्ने तयारीमा थिए । स्थानीयका अनुसार ती किशोरी गाउँकै स्कुलमा पढ्थिन् । किशोरीको खोजीका लागि कर्णाली प्रदेशभरिका प्रहरी इकाइलाई खबर गरिएको इन्सपेक्टर जोशीले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू