अन्तर्राष्ट्रिय आरोग्य दिवस – आरोग्यमुखी जीवनशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड

59

काठमाडौं। जीवन विज्ञान फाउन्डेसन र अन्नपूर्ण न्युरो अस्पतालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा ‘वेलनेस इन मोडर्न मेडिसिन : प्रमोटिङ प्रिभेन्टिभ एन्ड प्रमोटिभ हेल्थकेयर फर अ हेल्दियर टुमरो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यस आरोग्य संवाद कार्यक्रममा न्युरोसर्जन डा. वसन्त पन्तले आधुनिक चिकित्सा प्रणाली रोगको उपचारमा केन्द्रित भए पनि दैनिक जीवनशैली, मानसिक स्वास्थ्य, सामाजिक अवस्था तथा आध्यात्मिक पक्षलाई पर्याप्त महत्व दिन नसकेको बताए। स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परिभाषित गरेका शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक आयामलाई समेटेर मात्र समग्र स्वास्थ्य सम्भव हुने उनको भनाइ थियो।

उनले स्वास्थ्यकर्मी स्वयं मानसिक तनाव, चिन्ता र कार्यचापबाट प्रभावित हुने भएकाले स्वास्थ्यकर्मीहरूको आरोग्य तथा मानसिक सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताए। “स्वास्थ्य सेवा प्रदायक नै बलियो नभएसम्म बिरामीलाई प्रभावकारी सेवा दिन सकिँदैन,” उनले भने।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले पछिल्ला वर्षहरूमा नसर्ने रोगको भार तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै उपचारमुखी प्रणालीसँगै रोकथाममुखी र आरोग्यमुखी जीवनशैलीलाई प्राथमिकता दिनुपर्ने बताए। उनले आरोग्यलाई उपचारको विकल्प नभई स्वस्थ जीवनशैलीको आधारका रूपमा लिनुपर्ने धारणा राखे।

शर्माले नेपालले संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गराउन सफल भएको उल्लेख गर्दै विश्वव्यापी रूपमा आरोग्य, ध्यान, योग तथा समग्र स्वास्थ्यसम्बन्धी अवधारणामा नेपालको नेतृत्वदायी भूमिका स्थापित हुने विश्वास व्यक्त गरे। उनले नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरिसकेको उल्लेख गर्दै आरोग्य र वेलनेसलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाललगायत स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्यानल छलफलको सहजीकरण प्रा.डा. दीपक रेग्मीले गरेका थिए।

समाचार वर्गहरू