(चितवन) – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध मुक्त समाज निर्माण गर्नको लागि सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका ३ स्थित सामुदायिक सेवा केन्द्र नारायणगढको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै आईजीपी खनालले नेपाल प्रहरीले समुदायसँग थप सहकार्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए ।
महिला हिंसा नियन्त्रण लगायत सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेका कार्यक्रमहरु समाजमा शान्ति सुरक्षा स्थापना गर्न सहयोगी रहेको उनको भनाई छ । नेपाल प्रहरी र स्थानीय जनतासँगको साझेदारीमा उक्त भवन निर्माण गरिएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त केन्द्रको स्थापनामा सहयोग गर्ने महानुभावहरुलाई प्रशंसापत्र वितरण गरेका थिए । प्रहरी महानिरीक्षक खनालले सामुदायिक सेवा केन्द्रद्वारा प्रकाशित ‘सामुदायिक स्मारिका’ को समेत विमोचन गरे ।
सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मिना खरेलले प्रहरीलाई जनतासँग र जनतालाई प्रहरीसँग नजिक बनाई सम्बन्ध स्थापित गर्न सामुदायिक सेवा केन्द्र स्थापना भएको बताईन । सामुदायिक सेवा केन्द्रले समाजिक अपराध अनुसन्धानमा सहयोग, होटल व्यवसायलाई मर्या्दित बनाउन आचरसंहिता निर्माण, सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान लगायतका कार्यहरु गर्दै आएको समेत उनले जानकारी दिईन ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, बरीष्ठ प्रहरी अधिकृतरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु लगायत उपस्थिति थिए ।