काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंँ राजीनामा दिएर आन्दोलनमा उत्रने स्पष्ट पारेका हुन् ।
मन्त्री बाँस्कोटाले भने, “एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी भएको छ, म पनि वर्षौँसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।” सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिए । “अब कमिशन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ”, उनले भने ।
मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट पारे । आफू मन्त्री भएपछि रु पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पु¥याइने उनले जानकारी दिए ।
रासस