काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन्।
नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने उनले बताए। त्यस्तै न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने उनले बताए।
वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले करको मासिक विवरण पेश गर्नु नपर्ने भएको छ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै साना व्यवसायीको कर तिर्ने लागत घटाउन यस्तो व्यवस्था गरेको बताए। अबदेखि प्रत्येक महिना मूल्य अभिवृद्धि कर सम्बन्धी जानकारी ४ महिनामा पेश गरे हुने भएको हो।
हालसम्म प्रत्येक महिनाको २५ गतेसम्म मूल्य अभिवृद्धि करको विवरण बुझाउने गरिएको थियो।